हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट-३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।
गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताउनुभयो । “नवलपुरतर्फबाट सहज र छिटो रूपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम स्नान गर्न जान सकिन्छ”, उहाँले भन्नुभयो, “जसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो भएर जान सकिन्छ ।”
कालीगण्डकी चोकबाट करिडोरको बाटो हुँदै चारपाङ्ग्रे सवारीसाधनबाट कालीगण्डकीको पक्की पुलबाट देवघाटधाममा नै पुग्न सकिने भन्दै अध्यक्ष तिवारीले शिलान्यासचोक हुँदै ब्रिटिस क्याम्प भएर दुईपाङ्ग्रे सवारीसाधनमा देवघाटको केलादीघाटमा पुग्न सकिने बताउनुभयो ।
चितवनतर्फबाट देवघाट जान घुमाउरो र असहज यात्रा हुने हुँदा नवलपुरतर्फबाट सहज रूपमा यात्रा गर्न अनुरोध गरिएको छ । गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको छ । नेपाल टेलिभिजनका अनुसार कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको र बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक