20241216

स्मृति परीक्षा: अधुरो रेखाचित्रले तान्यो राजनीतिक यात्रामा - ४ र ५

९. अन्तरविरोधको प्रयोग :

कक्षा नौको परीक्षा दिएपछि घर बिगुटार गएँ । बिगुटार गाउँ पञ्चायतमा प्रधानपञ्चको निर्वाचन हुँदै रहेछ । पण्डित फणीन्द्रमणि दाहाल, पीताम्बर दाहाल, हरिलाल दाहाल, चतुर्मान राई, तेजलाल राई, क्या.धनबहादुर गुरुङ (सैमल) सेतु कटवालहरूकै प्रभावमा थियो बिगुटार । यस बेलासम्म राँगादीप र बिगुटार एउटै गाउँ पञ्चायतभित्र थिए । मलाई स्थापित पुरानाहरूको वर्चस्व तोड्नुपर्छ भन्ने लाग्यो । गाउँमा नै रहेका कलानिधि दाइसँग सल्लाह गरेँ । छाप्राली तोयानाथ दाहाल, सीताराम दाहाल, नारद्मणि पौड्याल, घिमिरे गोपी, बाबुराम दाहाल, कलाधर दाहाल, टेकबहादुर भुजेल, कीर्ति दाहाल (गुन्थे), जुद्धबहादुर भुजेल जस्ता मेरा समकालीन साथीहरूसँग पनि सल्लाह भयो ।


हामीले गाउँको टाठाबाठाको वर्चस्व तोड्न उनीहरूबीच झगडा जरुरी भएको निष्कर्ष निकाल्यौं र पीताम्बर दाजुलाई उक्सायौं । उहाँ फणीन्द्र काकासँग विवाद गरिरहनुहुन्थ्यो पनि । खास गरी बिगुटारमा पुण्यप्रसाद गुरुले संस्कृत पढाउनु हुने, त्यसलाई फणीन्द्र काकाहरूले सहयोग गर्ने तर पीताम्बरलाई मन नपर्ने हुनाले पटक-पटक गुरुबालाई सरुवा गराउने काम पीताम्बर गरिरहनुहुन्थ्यो तर फणीन्द्र काका फेरि बिगुटारमै गुरुबालाई फर्काउनुहुन्थ्यो ।


राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रतिपादन र बीपी कोइरालाहरूको स्वदेश आगमनले नेपालमा सशस्त्र हिंसा उचित हुँदैन, विदेशी भूमिमा बसेर राजनीति गर्नु घातक हुनेछ र देशबाहिर र भित्र विभाजित राजनीतिको अन्त्य गरी सबै पार्टी सदस्यहरूलाई देश भित्रिने अवसर चाहिन्छ भन्ने मान्यतालाई स्थापित गर्‍यो ।


हामी पनि गुरुबाका पक्षमा थियौं तर कमजोर कडी पीताम्बर नै हुन् भन्ने लागेर उहाँलाई राजनीतिको खेलमा उत्प्रेरित गर्‍यौं । पीताम्बर दाजु र मीनबहादुर कटवालले राँगादीप स्कुलमा निकै वर्ष पढाउनुभएको हुनाले त्यहाँको भोट पनि आउने सम्भावना थियो । तेजलाल राईका साला तर प्रजातन्त्रका पक्षका एक सक्रिय योद्धा फणीन्द्र राईको पनि हामीलाई समर्थन हुने सम्भावना थियो । फणीन्द्र राईका भाइ वीरबहादुर शिक्षक थिए र कट्टर कम्युनिष्ट भए पनि उनले पीताम्बरलाई सहयोग गर्ने स्थिति थियो ।


हाम्रो उमेर पुगेको थिएन मत खसाउन तर पीताम्बरका पक्षमा मत चिहृनको प्रचार खुब गरियो । निर्वाचनकालभरि भाउजूले भोजन गराउनुभयो । भाउजू असाध्य भलाद्मी । त्यसैबेला कटारीबाट बिगुटार पुग्नुभएका वेदनिधि दाहाललाई पञ्चहरूले नै सूचना दिएर ओखलढुंगा प्रशासनले पक्राउ गरी कटारीतिर नै पठाएछ । वेदनिधि दाइ पहिले कम्युनिष्ट जस्तो देखिए पनि कटारीमा बसाइँ सरेपछि कट्टर कांग्रेस हुनुभएको रहेछ । उहाँ पीताम्बरलाई सहयोग गर्न आउनुभएको थियो ।


उहाँ, चुनाव प्रचारमा लाग्नुभएको भए परिणाम फरक हुनसक्थ्यो । अन्ततः फणीन्द्र काका अत्यन्त भारी मतले विजयी हुनुभयो । पीताम्बरका सायद ७५ मतमात्रै आए । काकाको बाकसमा भने अटाई नअटाई मत परेका थिए । पाँच सयभन्दा बढी मत पाउनुभयो फणीन्द्र काकाले तर बिगुटारमा स्थापितहरूको चक्र भने भाँचियो र त्यसपछि विरोधको बलियो गठबन्धन सुरु भयो । हामी यसैमा रमायौं ।


१०. शहादत र सशस्त्र आन्दोलन :

२०३१ सालमा नेपाली कांग्रेसले सशस्त्र आन्दोलनको घोषणा गर्‍यो । यस क्रममा ओखलढुंगा राम्पुरका लीला दाहाल, ठगीराज दाहाल, गोकर्ण कार्की र खगेन्द्र दाहाललाई असोज १३ गते जेल सार्ने निहुँमा नख्खुनजिक लगेर निर्दलीय सत्ताले मार्‍यो । बिहानको दश पनि बजेको थिएन । म विद्यालय पुग्नासाथ थाक्ले घर भएका अग्रज तर विद्यालयमा शिक्षक दुर्गाप्रसाद दाहालले गोरखापत्र देखाउँदै भन्नुभयो : दाजुभाइहरूलाई निर्ममतापूर्वक मारेछ सत्ताले ।


लीला र ठगीराजलाई चिन्थेँ । हाम्रा छिमेकी दाजु लोकनाथ खतिवडाका मित थिए ठगीराज र बिगुटार आउने गर्थे । लीलालाई भने मैले बागबजारमा लीलाबल्लभ, बलभद्र, ढुण्डीराज काफ्लेहरूको डेरामा भेटेको थिएंँ । रामपुरका चारजनाको शहादतले मनमा हाहाकार भयो । यसअघि मटिहानीमा केशव कोइरालाको निर्मम हत्या भएको थियो । उनी ओखलढुंगाकै हुन् । कम्युनिष्टहरूका साहित्यको व्यापक प्रचार गर्न दिने तर कांग्रेस भनेपछि देखिनसहने निर्दलीय तन्त्र बुझिनसक्नुको थियो । यसको असर व्यापक भयो ।


क्या.यज्ञबहादुर थापाको नेतृत्वमा ओखलढुंगालाई मूल लक्ष्य बनाएर सशस्त्र आन्दोलनको योजना सार्वजनिक भयो । कतिपय नेताहरू योगेन्द्रमान शेरचन, सरोजप्रसाद कोइराला, दीवानसिंह राईहरूलाई निर्दलीय सत्ताले पहिले नै षड्यन्त्रपूर्वक मारेको थियो । झापाकाण्डपछि रामनाथ दाहालसहित पाँचजना कम्युनिष्ट नेताहरूलाई सुखानीको जंगलमा विभत्सतापूर्वक मारेको थियो सत्ताले । ओखलढुंगामा बाबुराम दाहाल (रामपुर) र भवनाथ पौडेल (साइटर) को नेतृत्वमा रामपुरमा धान लुटेर विपन्नलाई बाँड्ने अभियानले निकै माहौल तताएको थियो । चर्चित झोडाकाण्ड र तामागढी काण्डले पनि राजनीतिक माहौल तातेको थियो ।


ओखलढुंगाको मिसन कमजोर भएपछि लुक्दैछिप्दै नयाँ मिसन क्षेत्रमा लागेका क्या.थापा, राम, लक्ष्मण, महेश कोइरालासहित धेरैले टिम्बुरबोटेमा शहादत प्राप्त गरे । हाम्रै गाउँ बिगुटारमै पर्ने ठाडे र टोड्केको जंगलमा कतिपयलाई जिउँदै गाडेर मा¥यो निर्दलीय सत्ताले । रामपुरकै पेशल दाहाललाई पनि मानबहादुर सुनुवार भन्ने पञ्चको नेतृत्वमा प्राप्चाको सिरानमा मार्ने काम भयो । यी घटनाहरूले मलाई स्वतन्त्रताको आन्दोलनमा लाग्न थप ऊर्जा र साहस प्रदान गर्‍यो । (ओखलढुंगा र सोलुका बीचमा भएको त्यो काण्ड र त्यससँग जोडिएका सन्दर्भहरूको विवरण मेरै संयोजकत्वमा नेपाल सरकारबाट गठित टिम्बुरबोटे शहीद अभिलेख समितिले अनुसन्धान गरी प्रतिवेदनसमेत बुझाएको थियो । २०५२ मा संस्कृति तथा पर्यटनमन्त्री बलबहादुर केसीको अग्रसरतामा समिति गठन भएको थियो । त्यसमा विवरण पर्याप्त छ यसबारे)


११. पहिलो गिरफ्तारी :

२०३१ सालको वर्षाको समय थियो । हाम्रा केही मागहरू थिए तर कसैबाट सुनुवाइ नभएपछि केही साथीहरूले सल्लाह गरी रानीपोखरीको मोटरबाटो अवरुद्ध गर्‍यौं । भानुभक्तको स्मारक नजिक बाटो छेक्यौं । त्यस समयमा गाडीहरू पातलै चल्थे तर दोहोरो चल्ने हुनाले तमासा खडा भयो । इँटा थुपार्‍यौं र कसैले जबर्जस्ती गरेमा इँटाले हान्न पनि थाल्यौं । एकैछिनमा प्रहरीको भ्यान आयो र हामी सबैलाई पिट्तै कोच्दै ग¥यो । भाग्न सक्नेहरू भागेर जोगिए । अरू केही पर्‍यौं । प्रहरी कार्यालय हनुमान ढोकामा पुर्‍याएर कोठामा थुनेपछि टाउको उँधो र खुट्टा भित्तामा टेक्न लगाए प्रहरीले । साना केटा भएको हुनाले अब यस्तो नगर्न सचेत तुल्याएर छाडिदिए । पहिलो पटक हो त्यो प्रहरीठानाको यात्रा । त्यसपछि त हिसाब नै भएन ।


१२. प्रजातान्त्रिक प्रशिक्षणमा सहभागी :

२०३४ सालमा काठमाडौंमा कांग्रेसहरूले पिकनिकको आयोजना गरेछन् । वीरनाथ कर्माचार्यको नेतृत्वमा, राजेन्द्र खरेल, हरिबोल भट्टराई, तीर्थराम डंगोलहरू हुनुहुन्थ्यो । जेलबाट भरखर रिहा हुनुभएका, मार्शलजुलुम शाक्य, श्यामलाल श्रेष्ठ र श्रीकृष्ण वैद्य हो वा श्रेष्ठ, काभ्रे घर भए पनि काठमाडौं बानेश्वरमा सामाजिक र राजनीतिक अभियानमा सक्रिय राजेन्द्र खरेल, धादिङका भरत उप्रेती, शरद उप्रेती, जोरपाटीका सप्तलाल ताम्राकार पनि हुनुहुन्थ्यो । हामी छात्रावासबाट दश रुपैयाँ तिरेर ढुण्डीराज दाहाल, लक्ष्मीनारायण न्यौपाने (डोल्पा) व्रतराज आचार्य, गोविन्द भट्टराई (खोटाङ लामिडाँडा) श्याम न्यौपाने, इन्द्रमणि अधिकारी, गोविन्द मजगैंया (दाङ)हरू पनि सहभागी थियौं । म यसरी धेरै कांग्रेसजनसँग एकाठाउँ भेट र जम्मा भएको पहिलो पटक हो त्यो ।


भारतपाक युद्ध र बंगलादेशको उदय, भारतमा सिक्किमको विलय, भारतमा इन्दिरा गान्धीद्वारा लगाइएको संकटकाल, अफगानिस्तान, इरानका घटनाक्रम, आफूले सञ्चालन गरेको सशस्त्र आन्दोलनको विफलता र क्षति आदिको मिहिन समीक्षा गरी बीपी कोइराला गणेशमान सिंहसहित निर्वासन परित्याग गर्दै स्वदेश फर्किनुभएपछि राजनीतिले केही महत्वपूर्ण आयाम लिन थालेको थियो । राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रतिपादन र बीपी कोइरालाहरूको स्वदेश आगमनले : नेपालमा सशस्त्र हिंसा उचित हुँदैन, विदेशी भूमिमा बसेर राजनीति गर्नु घातक हुने छ र देशबाहिर र भित्र विभाजित राजनीतिको अन्त्य गरी सबै पार्टी सदस्यलाई देश भित्रिने अवसर चाहिन्छ भन्ने मूल मान्यतालाई स्थापित गर्‍यो भन्ने देखिएको छ ।


(क) राजनीतिक पिकनिक :

बालाजुको जंगलमा पिकनिक भए पनि सबैजना निकै सतर्क थिए । हरिबोल भट्टराईले समसामयिक राजनीतिका कुरा राख्नुभयो । उहाँले बीपी कोइरालाले अघिल्लो साल २०३३ पुस १६ गते निर्वासन परित्याग गर्दै दिनुभएको वक्तव्य र राष्ट्रिय एकता तथा मेलमिलाप नीतिबारे गर्नुभएको भाष्यको चर्चा गर्नुभयो । उहाँले २०३२ मा निर्दलीय संविधानको संशोधनले पञ्चहरूलाई उत्साहित तुल्याएको, २०३१ को टिम्बुरबोटेसहितको घटनाले लोकतान्त्रिक आन्दोलन निराश भएको यस समयमा बीपीको स्वदेश आगमनले नयाँ दिशा दिने विश्वास प्रकट गर्नुभयो ।


यसबीचमा भारतमा सिक्किमको विलयको कथाले हामी सबैमा राष्ट्रियताप्रति सचेत गराएको र थप प्रतिबद्ध हुने बाटो खोलेको थियो । भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटकाल र त्यसविरुद्ध जयप्रकाश नारायणको समग्र क्रान्तिको प्रभाव नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि पर्दै थियो ।


२०२८ मा पञ्चायतका जनक राजा महेन्द्रको पार्थिव अवसान भएर वीरेन्द्र सत्तारुढ हुँदा उदार राजनीतिको अपेक्षा गरिए पनि त्यस्तो नदेखिएको हुनाले अब कांग्रेसजनले प्रजातन्त्रका लागि देशभित्रै संघर्ष सशक्त गराउनुपर्ने धारणा राख्नुभयो । वीरनाथ कर्माचार्य र राजेन्द्र खरेलले पनि आन्दोलनको आवश्यकता र मेलमिलापको विषयमा केही कुरा राख्नुभयो । नेताहरूले यस्तै विचार प्रकट गरेपछि भोजन गरेर हामी बाटो लाग्यौं । एक प्रकारले लोकतान्त्रिक राजनीतिक विचारको यो प्रशिक्षण जस्तै थियो हाम्रा लागि ।


(ख) राष्ट्रियताको तरंग :

यसबीचमा भारतमा सिक्किमको विलयको कथाले हामी सबैमा राष्ट्रियताप्रति सचेत गराएको र थप प्रतिबद्ध हुने बाटो खोलेको थियो । भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटकाल र त्यसविरुद्ध जयप्रकाश नारायणको समग्र क्रान्तिको प्रभाव नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि पर्दै थियो । तिब्बतलाई चीनले आफ्नो प्रत्यक्ष शासनमा राखेपछि, नेपालमा सन् १९६० देखि नै आएका तिब्बती शरणार्थी र खम्पाहरूको विद्रोह अनि त्यसमा चीनको तत्परताप्रति पनि लोकतन्त्रवादीहरू सचेत थिए । तिब्बती शरणार्थीहरूसँग जोडिएर नेपालको संवेदनशील भूअवस्थितिमा युरोप र अमेरिकी चासो पनि विचारणीय पक्ष थियो तर हामीलाई यी विषयको अर्थ खुलिसकेको थिएन ।


संस्कृत छात्रावासमा हामी खुला बहस गथ्र्यौं । निर्दलीय पञ्चायतभित्र पनि सूर्यबहादुर थापा, प्रकाशचन्द्र लोहनीहरू निकै आक्रामक देखिएका थिए । थापा समूहले आयोजन गरेको इटुम्बहालको सभा निकै चर्चित भएको थियो । हामी पनि छात्रावासबाट भाषण सुन्न पुगेका थियौं । त्यसवेला डा.प्रकाशचन्द्र लोहनीले भनेको ः लथालिंग देशको भताभुंग चाला जजसले सक्ला उसउसले खाला, आज पनि मेरो स्मृतिमा ताजै छ । बहुचर्चित स्नातक निर्वाचन क्षेत्रको चुनावमा रामराजाप्रसाद सिंह, ऋषिकेश शाह, शंकर घिमिरेहरूको खुब चर्चा थियो । जानी नजानी रामराजाप्रसादका पर्चा छर्न हामी पनि सक्रिय भएका थियौं तर पछि यो प्रसंग शिथिल भयो ।


त्रिभुवन विश्वविद्यालय सभाका लागि स्नातकहरूबाट निर्वाचन हुँदै थियो । मनमोहन भट्टराई र संस्कृत छात्रावासमा नै रहनुभएका व्रतराज आचार्य प्रजातन्त्रवादीहरूका तर्फबाट उम्मेदवार उठ्ने चर्चा थियो । सिके प्रसाईंकी साली रोशन कार्की पनि प्रजातान्त्रिक समूहमा जोडिएर उम्मेदवार हुने छलफल चल्दै थियो तर कांग्रेसीहरूले जित्ने देखेपछि चुनाव नै भएन । सायद यसअघि राष्ट्रिय पञ्चायतको चुनावमा स्नातकहरूले देखाएको पञ्चायतविरोधी कदमबाट त्रिविसभाको चुनाव पनि प्रभावित भएको हुनुपर्छ । अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सन्छ भने जस्तो भएको थियो । 

*****

 १३. संसदीय अभ्यासको जीवन्त थलो संस्कृत छात्रावास :

लोकतन्त्र र संसदीय राजनीतिको प्रयोग थलो संस्कृत छात्रावास रहेछ । संस्कृत छात्रावासमा विधान सभाको चुनाव हुने, विधान सभाले सभापतिको चयन गर्ने, विधान सभाको निर्वाचन पहिले साधारण सभा हुने र त्यसले पनि एकजनालाई निर्वाचित गर्ने परम्परा रहेछ । त्यहाँ चारोटा टोलहरू छन् : हिमाञ्चल टोल, गोरखाली टोल, पण्डित टोल र पश्चिमाञ्चल टोल । प्रत्येक टोलबाट चार-चारजना निर्वाचत भएर विधान सभामा पुग्ने रहेछन् । एकजना सभामुख हुने, एकजना कार्यकारी अधिकारसहितको सभापति, अरू आवश्यक मन्त्रीहरू जस्तो शिक्षामन्त्री, खाद्यमन्त्री, पत्रपत्रिकामन्त्री आदि ।


पुस्तकालय अत्यन्त राम्रो थियो । पठन संसकृति वेजोड थियो । सूचनाको माध्यम रेडियो (एउटा) सामूहिक थियो र त्यसलाई शिक्षामन्त्रीको जिम्मामा राखिन्थ्यो । नेपालबाट प्रकाशित र राजधानीमा उपलब्ध दैनिक र साप्ताहिक पत्रिकाहरूदेखि भारतीय प्रकाशनका नवभारत टाइम्स्, इण्डियन एक्स्प्रेस, हिन्दूस्तान टाइम्स्, दिनमान, रविवारहरू पत्रिकालयमा हुन्थ्यो । नवनीत, कादम्बिनी जस्ता साहित्यिक पत्रिकाहरू हुन्थे । नेपालबाट प्रकाशित रूपरेखा, मधुपर्क आदि पनि राखिन्थ्यो । अरू प्रकाशन पनि थिए । दैनिक अध्ययन हुने गथ्र्यो । यसअर्थमा विशिष्ट चरित्र थियो छात्रावासको ।


साधारण सभामा व्यापक बहस हुने रहेछ । अनेक भित्रीसमस्या र मुद्दाहरूमा सूक्ष्म र बौद्धिक बहस हुने, खाने, बस्ने, खेल्ने अध्ययन गर्ने सबै विषय मन्त्रीहरूले व्यवस्थित गर्नुपर्ने । कुनै विषयमा विवाद भएमा छात्रकार्य समितिको बैठक, त्यसले नपुगे विधान सभाको बैठक र त्यसले पनि नपुगे साधारण सभा बोलाउने प्रचलन रहेछ । त्यहाँ अत्यन्त नराम्रो अभ्यास के रहेछ भने पूर्वीया र पश्चिमा भन्ने झगडा । तनहूँ, धादिङतिरकाहरूको नेतृत्वमा पश्चिमाहरूको र सोलु, ओखलढुंगा, भोजपुर सिन्धुपाल्चोक, सुदूपश्चिम, गुल्मी, अर्घाखाँची, पाल्पा, लमजुङतिरकाहरूको नेतृत्वमा पूर्वेली । अखिल साथीहरू थोरै थिए र उनीहरू पूर्वीयाहरूसँग निकट भएर बसेका । कुनै दिन त लाठीमुंग्री चल्ने, भयानक झगडा हुने गथ्र्यो ।


छात्रावासमा असाध्य नराम्रो काम विद्यार्थीहरूको एउटा पंक्तिको थियो । चार-पाँचजना थिए । भात खाएपछि रक्सी पिउन असनतिर जान्थे र दश बजे मूल ढोका बन्द हुनुअघि मात्रै फर्केर वमन गर्ने, जथाभावी उपद्रो मच्चाउने गर्थे । तिनीहरूलाई नियन्त्रण गर्ने सामथ्र्य सुपरीक्षकसँग पनि हुँदैनथ्यो ।


राजधानी निकटहरू दुवैतिर कोही कता कोही कता देखिन्थे । तरकारी मीठो भएन झगडा, पत्रिका समयमा आएन झगडा, दशैँ तिहारमा खसी, दही राम्रो तरकारी र अचार आएन झगडा । त्यो मार कार्य समितिले भोग्ने । बत्ती आएन, ठेकेदारले चामल राम्रो दिएन, बिहान–बेलुका पढाउन आउने गुरु समयमा आउनु भएन भने सुपरीक्षकको पीडा । कतिदिन त सुपरीक्षकहरू समेत विद्यार्थीबाट घेराबन्दीमा पर्ने, अपमानित हुने यस्ता सारै तल्लो दर्जाको काम पनि हुने गथ्र्यो । म सेको समयमा प्रा.विष्णुराज आत्रेय, प्रा.श्रीकृष्ण आचार्य, प्रा.वेणी माधव ढकालजस्ता विद्वानहरू हुनुहुन्थ्यो । उहाँहरू जस्ताले पनि अपमानित भएको हामीले देख्यौं । हामी केही साथीहरू यस्ता विवादमा पर्दैनथ्यौँ ।


अर्को असाध्य नराम्रो काम विद्यार्थीहरूको एउटा पंक्तिको थियो । चार-पाँच जना थिए । भात खाएपछि रक्सी पिउन असनतिर जान्थे र दश बजे मूल ढोका बन्द हुनुअघि मात्रै फर्केर वमन गर्ने, जथाभावी उपद्रो मच्चाउने गर्थे । तिनीहरूलाई नियन्त्रण गर्ने सामथ्र्य सुपरीक्षकसँग पनि हुँदैनथ्यो । विशिष्ट विद्वानहरू बस्ने त्यो स्थान केही व्यक्तिका कारण प्रदूषित भइरहेको थियो । निकै पछिसम्म यस्ता अनेक विद्यार्थीहरूको रजगज नै चलेको थाहा भइरहन्थ्यो । आजभोलि के कस्तो छ थाहा भएन ।


लेख्दै गर्दा तत्काल स्मृतिमा आएका नामहरूमा हाम्रो समयभन्दा केही पहिलेका, समकालीन र पछिल्लो समयमा अघि र पछिका स्वनामधन्यहरू : जयराज आचार्य, नरहरि आचार्य, नरेन्द्रराज पौडेल, चूडामणि खनाल, शरद्चन्द्र पण्डित, स्थीरप्रसाद पराजुली, धनञ्जय तिमल्सिना, सिद्धराज ओझा, दैवदत्त कोइराला, ऋषिकेश उपाध्याय, गोविन्द घिमिरे (जोरपाटी) कोषराज न्यौपाने, शिव अधिकारी (स्थापित कवि तथा साहित्यकार) ढुण्डीराज दाहाल, व्रतराज आचार्य, प्रयागराज वाशिष्ठ, रमेश अधिकारी, तोयराज नेपाल, दुर्गाप्रसाद अर्याल, हेमचन्द्र नेपाल, तुलसी गौतम, तारानाथ गौतम, बद्री दाहाल (भष्मासुर), लीलानाथ दाहाल, केशव अधिकारी (रौतहट) लेखनाथ आचार्य, शिवकुमार गौतम, भवानी पराजुली, गोविन्द भट्टराई (खोटाङ) हेमचन्द्र नेपाल, रमेश भट्टराई, केशव गौतम, शिवराज सापकोटा, बद्री पोख्रेल, मोहन तिमल्सिना, नारायण पोख्रेल, बुद्धि आचार्य, हर भट्टराई, घनश्याम उपाध्याय, यज्ञनिधि दाहाल, गोपाल अधिकारी, गोविन्द सुवेदी, आत्माराम घिमिरे राजु, भूपहरि पौडेल, केशव पहाडी, इन्द्रमणि अधिकारी, श्याम न्यौपाने, विश्वनाथ गौतम, कलेज पुग्नैलाग्दा वा पुगेपछि र केहीपछि तेजप्रकाश पण्डित, श्रीभक्त आचार्य, शरद्चन्द्र आचार्य, रघुनाथ अधिकारी, सागरमणि पराजुली, नेत्रप्रसाद न्यौपाने, शुकदेव न्यौपाने, मुकुन्दराज दाहाल, समकालीनमा कृष्णप्रसाद भट्टराई, शंकर अधिकारी, होमप्रसाद गृहस्थी, हरिकृष्ण पौडेल, प्रेमप्रसाद गैरे, भरत पौडेल, दामोदर तिमल्सिना, त्रिविक्रम पौडेल, कृष्ण ज्ञवाली, कृष्ण पौडेल (धादिङ) ज्ञानचन्द्र आचार्य, खिलानाथ बस्ताकोटी, नन्दकृष्ण जोशी, शम्भु कोइराला, कृष्णचन्द्र आचार्य, टीकाराम भट्टराई, फणीन्द्र नेपाल (हाल ग्रेटर नेपालको अभियन्ता) सूर्यमोहन काफ्ले, सुदर्शन सुवेदी, शम्भु पण्डित, हरि सुवेदी, रामनाथ काफ्ले, रामेश्वर काफ्ले, बद्रीनाथ अधिकारी (धादिङ) गणेश नेपाल, यदु अधिकारी गोरखा, हालका चर्चित लेखक, नेपाली भाषाका सशक्त अभियन्ता कवि बलदेव अधिकारी (धादिङ) नूरेश्वर अधिकारी, राजेन्द्र दाहाल, नन्दप्रसाद रिजाल, रुद्रलोचन आचार्य, माधवराज पाण्डे, रामप्रसाद अधिकारी, रामप्रसाद नेपाल, गुणराज दाहाल, पुष्पनिधि दाहाल, हेमनिधि नेपाल, शम्भु पण्डितहरू पनि सक्रिय भएर देखा परेका थिए ।


कर्मचारी भएर पनि होमप्रसाद भट्टराई (रामेछाप) गोविन्द न्यौपाने र टंक न्यौपाने (सिन्धुपाल्चोक) गिरिराज खतिवडा (सुनसरी) का भाइ पनि निकै सहयोगी र सशक्त थिए । छात्रावासको ऐतिहासिक साहित्यिक पत्रिका अरुणोदयको प्रकाशन केही समयदेखि रोकिएको रहेछ । कहिले बन्द कहिले प्रकाशन । म छात्रावास भर्ना भएको समयमा बन्द भएको थियो तर छात्रकार्य समितिको सक्रियतामा पुनः प्रकाशन आरम्भ भयो र यो लामो समयसम्म चल्यो । संस्कृत छात्रावासमा बस्नेहरू संसदीय अभ्यासमा निःपुण हुनुको कारण त्यही रहेछ । समयसमय वादविवाद प्रतियोगिता, कविता प्रतियोगिता, वक्तृत्व प्रतियोगिता, खेलकुद र हाजिरी जवाफ प्रतियोगिताहरू हुनेभएको हुनाले अत्यन्त जागरुक रहेछ संस्कृत छात्रावास ।


प्रत्येक प्रतियोगिताहरूमा पहिलोदेखि सान्त्वनासम्मले पुस्तकहरू पुरस्कारबापत पाउने गर्थे । समय मिलाएर ऋषिकेश शाह, यदुनाथ खनाल जस्ता विद्वानहरूको प्रवचन पनि हुने गथ्र्यो । साहित्यिक कार्यक्रममा बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, मोहन कोइराला, केदारमान व्यथित, श्यामदास वैष्णव, दैवज्ञराज न्यौपाने, केदार न्यौपाने, वासुदेव त्रिपाठी, तारानाथ शर्मा, जगन्नाथ त्रिपाठी, सूर्यविक्रम ज्ञवाली, हेमांगराज अधिकारी, जस्ता कवि लेखकहरूको समेत आगमन हुने गर्दथ्यो । निर्दलीय राजमा समेत संस्कृत छात्रावास संसदीय राजनीतिको केन्द्र र चेतनाको एक जीवन्त नमुना रहेर निरन्तर थियो । छात्रावासमा अध्ययन गरेका अनेक युवाहरू कोही लोकतान्त्रिक आन्दोलनमा, कोही साम्यवादी आन्दोलनमा र कोही निर्दलीय सत्ताको माथिल्लो तहमा समेत पुगेका थिए ।


प्रशासनको चूरो नै थियो छात्रावासमा बस्नेहरू । लोकसेवा उत्तीर्ण भएर देशको सरकारी सेवामा ठूलो पंक्ति पछिसम्म सशक्त देखिन्थ्यो । सचिवहरू त प्रायः संस्कृत छात्रावासमा बसेका वा वाल्मीकिमा पढेकाहरूको संख्या सर्वाधिक रहेको थियो र अहिले पनि कमोबेस निरन्तर छ । राजनीतिक रूपले लोकतान्त्रिक आन्दोलनमा अत्यन्त सक्रिय तुलसी भट्टराई (ओखलढुंगा), विजयराज भट्टराई (तनहूँ) नेपाल सरकारको सचिव भएको चर्चा पछिसम्म थियो । राजनीतिक रूपमा जयतु संस्कृतम् आन्दोलनका नायकहरू : पूर्णप्रसाद ब्राहृमण, राजेश्वर देवकोटा, पद्मशंकर अधिकारी, काशीनाथ गौतम, श्रीभद्र खनाल, कमलराज रेग्मी, अच्युतराज रेग्मी, काशीनाथ गौतम, गोकर्णराज शास्त्रीहरूको नाम चर्चित छ ।


हामी राति-राति छात्रावासमा बैठक गर्ने र प्रजातन्त्रका पक्षमा सक्रिय हुने कार्यक्रम बनाइ रहन्थ्यौं । छात्रावासमा तनहूँबाट आएका तेजप्रकाश पण्डित, हरिकृष्ण पौडेल पनिसक्रिय थिए तर नेतृत्व गर्ने कतिपय अग्रजहरू छात्रावासबाट बाहिर गएपछि उनीहरू अध्यापन र सरकारी सेवामा पुगे ।


वाल्मीकि विद्यापीठमा पढेका रामचन्द्र पौडेल राष्ट्रपति हुनुभयो । मन्त्री हुनेहरूको संख्या उत्तिकै छ । यी पंक्ति लेखिँदै गर्दा मेरै विद्यार्थी बद्री पाण्डे मन्त्री छन् । यसअघि होमनाथ दाहाल, सिद्धराज ओझा, चिरञ्जीवी वाग्ले, नरहरि आचार्य, प्रा.विदुरप्रसाद पौडेल, घनश्याम पौडेल, कृष्णप्रसाद सापकोटाहरू कोही मन्त्री कोही सांसद भइसकेका हुन् २०४६ सालपछि पनि । साहित्यिक क्षेत्र र प्राध्यापनमा पनि उत्तिकै दख्खल छ ।


कविशिरोमणि लेखनाथ पौडेल, राष्ट्रकवि माधव घिमिरे, प्राडा. वासुदेव त्रिपाठी, प्रा.पीताम्बर दाहाल, प्रा.श्याम दाहाल, प्रा.दैवज्ञराज न्यौपाने, प्रा.टंक न्यौपाने, प्रा.कविराज न्यौपाने, केदार न्यौपाने (कवि) प्रा.चेतोनाथ गौतम, गणेश विषम, प्राडा.भूपति ढकाल आदि नाम लिएर सम्भव हुँदैन । पत्रकारितामा समेत राम्रो उपस्थिति छ । सम्भवतः होमनाथ दाहाल (२०४६ सालपछि नेपाल सरकारको मन्त्री) छात्रावासबाट पत्रकारिताको उचाइमा पुग्नेमध्ये पहिलो हुनुहुन्छ । कूटनीतिक क्षेत्रमा समेत पुगेको अवस्था छ । प्रा.यदुनाथ खनाल, जयराज आचार्य, ज्ञानचन्द्र आचार्यहरू उदाहरणीय नाम हुन् भने पछिल्लो पटक धनप्रसाद पण्डित पनि राजदूत भएका छन् ।


जयतु संस्कृतम् (विसं.२००४) को विद्रोहदेखि नै लोकतान्त्रिक आन्दोलनको मियो थलो तीनधारा संस्कृत छात्रावासमा २०१७ को निर्दलीय काण्डले भने निकै दूषित पारेको रहेछ । लोकतन्त्रका लागि पीताम्बर दाहाल, प्रेमनाथ अर्याल, रामप्रसाद भट्टराई, मीनकुमार दाहाल, होमनाथ दाहाल, चिरञ्जीवी वाग्लेहरू जति लागि परेका थिए वाचस्पति देवकोटा, घनश्याम पौडेलहरू पनि कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए । तर, एकथरी जसलाई रोयल कम्युनिष्ट भनिन्थ्यो तिनीहरू भने दरशारमा प्रवेश गर्ने, सरकारी जागिरमा पुगेर पनि लोकतान्त्रिक आन्दोलनविरुद्ध क्रूरतापूर्वक लाग्ने आदि काम गर्दा रहेछन् । यसकारण डराइ–डराइ कदम चाल्नुपर्ने रहेछ । सरकारी संयन्त्र खासगरी नजिकै रहेको बागमती अञ्चलाधीश कार्यालयबाट साप्ताहिक वा मासिक भत्ता बुझ्नेहरू पनि भित्रभित्रै खुराफाती काम गर्दा रहेछन् । म छात्रावासमा सुपरीक्षक भएर २०४२ देखि २०४३ अन्तिमसम्म काम गर्दा यसको प्रत्यक्ष अनुभव हुनपुग्यो ।


म संस्कृत छात्रावासमा २०३१ देखि २०३९ जेठसम्म बसेँ । त्यस बीचमा राजेन्द्र दाहाल, माधवराज पाण्डे, स्थानेश्वर तिमल्सिना, भेषराज पन्थी, यदुपन्थी, तेजप्रसाद पौडेल, जगदीश्वर अधिकारी, मोहन सापकोटा, शम्भु दुर्गम निरौला, गोविन्द भण्डारी, नवराज कट्टेल, ध्रुव भट्टराई, विष्णु पाण्डे (बाजुरा), ज्ञानमणि नेपाल (दैलेख), ध्रुव गौतम (जीवनपुर) डिपी अर्याल, सुनील ढकालसहित धेरै फरक क्षेत्रका प्रतिभाशाली विद्यार्थीहरूको उपस्थिति भइसकेको थियो । अहिलेका चर्चित र स्थापित कवि तीर्थराज अधिकारी पनि गोरखाबाट नै आएका थिए । षडानन्द संस्कृत मावि दिङ्ला, संमावि दाङ, धरान संस्कृत मावि, मटिहानी, जनकपुर, कलैया, गोरखा, लमजुङ पाणिनी संमावि, कास्की तनहूँका माविहरूबाट पनि कक्षा आठ पूरा गरेका वा माध्यमिक तह पार गरेकाहरू पढ्न आउँथे ।


कलैयाबाट आएका धेरै साथीहरू भए पनि अहिले रामहरि आचार्य, ध्रुव घिमिरे, रमेश बस्ताकोटीको स्मृति ममा छ । कोही वनारसतिरबाट पनि कुनै तह पार गरी आउने गर्थे । अर्थात् संस्कृत छात्रावास एउटा विशिष्ट संगमस्थल थियो विद्याको । वीरशमशेरले जुनसकै कारणबाट विसं. १९४२ मा स्थापना गरेको भए पनि शैक्षिक जागरणको मात्र नभएर संस्कृत छात्रावास आधुनिक नेपाल निर्माण र परिवर्तनको जग भएर इतिहासमा स्थापित छ । क्रमशः

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक