बौद्ध धर्मदर्शनको विकासमा अनुपिटक र अट्टकथा साहित्यको विशेष भूमिका रहेको छ । अनुपिटक भन्नाले पिटक पछिको भन्ने हुन्छ । किनकि अनुको अर्थ पश्चात् हो । यसरी हेर्दा त्रिपिटकको रचना भइसकेपछि रचना गरिएका पालि साहित्यका ग्रन्थहरूलाई यस अन्तर्गत लिइन्छ । त्यसैले अनुपिटकको रचनाकाललाई विद्वान्हरूले मोटामोटी त्रिपिटकको रचनापछि पाँचौँ शताब्दीमा लेखिएका अट्ठकथाहरूभन्दा पहिले रचना गरिएका ग्रन्थहरू भनेर उल्लेख गरिएको पाइन्छ । यसमा नेत्तिप्पकरण, पेटकोपदेश र मिलिन्दपञ्ह ग्रन्थ पर्दछन् । नेत्तिप्पकरणः यस ग्रन्थलाई नेत्ति तथा नेत्तिगन्ध पनि भनिन्छ । नेत्तिको अर्थ मार्गप्रदर्शन गर्नु हो । यो ग्रन्थ सानो आकारको भएता पनि यसले बौद्ध दर्शनलाई बुझाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । त्यसैले यस ग्रन्थलाई नेत्तिप्पकरण भनिएको हो । यसका रचयिता महाकात्यायन हुन् र यस ग्रन्थको विषय भनेको १६ हजार ५ वटा नय–नीति एवम् १८ वटा मूल पदहरूको विवेचन गर्नु हो ।
त्यस्तै मूलपद भन्नाले मुख्य नैतिक विषयहरू भन्ने बुझ्नुपर्दछ । त्यसैगरी पेटकोपदेशः दोस्रो ग्रन्थ मानिन्छ, यसमा पनि नेत्तिप्पकरणमा भएका विषयवस्तुहरू नै रहेका छन् । तर शैली र आकारका दृष्टिले मात्र नेत्तिप्पकरणभन्दा यो भिन्न रहेको छ । यसलाई पनि महाकात्यायनकै रचना मान्ने गरिएको छ । यस ग्रन्थमा बुद्धशासनको प्रमुख सिद्धान्त चार आर्यसत्यलाई दृष्टिगत गरी समग्र विषयवस्तुहरूको उपस्थापन गरिएको छ । अतः विषय–विन्यास नै यस ग्रन्थको मुख्य विशेषता रहेको छ । तेस्रो ग्रन्थको रूपमा मिलिन्द प्रश्न मानिन्छ । यस ग्रन्थलाई अनुपिटक–साहित्यको सर्वश्रेष्ठ ग्रन्थका रूपमा लिइन्छ । यसमा बाहिर कथा आदि सातवटा परिच्छेदहरू रहेका छन् । सामान्यतः यस ग्रन्थको नामबाट नै यसमा मिलिन्दका प्रश्नहरू होलान् भन्ने अनुमान सहज रूपमा नै गर्न सकिन्छ तर यस ग्रन्थमा नागसेनद्वारा उठाइएका प्रश्नहरूको सामाधान विषयवस्तुका रूपमा रहेको छ । प्रश्नहरूको समाधान थेरवादी दृष्टिकोणबाट प्रस्तुत गरिएको छ ।
त्यसैले गर्दा नै यस ग्रन्थलाई पालि त्रिपिटकहरूलाई जत्तिकै सम्मान प्रदान गरिएको हो । आचार्य बुद्धघोषले आफ्ना अट्ठकथाहरूमा प्रमाणका रूपमा यस ग्रन्थबाट उद्धरणहरू लिएका छन् । यसवाट बौद्ध दर्शनको विकासमा अनुपिटक साहित्य र सञ्चारको भूमिका रहेको पाइन्छ । तृतीय धम्मसंगीतिमा त्रिपिटकहरू पूर्णरूपमा आइसकेपछि बौद्ध धर्मको प्रचारका लागि विभिन्न देशहरूमा भिक्षुहरूलाई पठाउने निश्चय गरियो । तदनुसार सम्राट् अशोकका पुत्र महेन्द्र स्थविरलाई लङ्का पठाइयो । उनीसँग अन्य चार जना भिक्षुहरू पनि लङ्का गएका थिए । त्यसको केही समयपश्चात् सम्राट् अशोककी छोरी भिक्षुणी सङ्घमित्रा पनि अन्य ११ जना भिक्षुणीहरूसहित त्यहीँ पुगिन् । तिनै भिक्षु तथा भिक्षुणीहरूले लङ्कामा बौद्ध धर्मको व्यापक प्रचार–प्रसार गरे । साथै आफूहरूले कण्ठस्थ गरेका बुद्धवचनलाई पनि सुरक्षित राखिरहे । उनीहरूले कण्ठस्थ गरेका बुद्धवचन अरूलाई पनि कण्ठस्थ गराए ।
जसले गर्दा त्यो परम्परा रहिरह्यो । इसापूर्व प्रथम शताब्दीसम्म त्यो कण्ठस्थ गर्ने परम्परा रहेकोमा यस परम्पराबाट मात्र त्रिपिटक सुरक्षित राखिराख्न नसकिने स्थिति महशुस गरी इसापूर्व प्रथम शताब्दीमा लिपिबद्धको कार्य भयो । यसले गर्दा बौद्ध दर्शनको विकास र सञ्चारमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
त्रिपिटक र त्यसका व्याख्यालाई भारतमा पनि कण्ठस्थ गर्ने परम्परा थियो । त्यस मध्ये केही व्याख्यालाई त्रिपिटक भित्र पनि स्थान दिइएको छ । संम्राट अशोकका छोरा लंका जाँदा त्रिपिटकहरूका साथ साथै तिनका व्याख्याहरूलाई पनि आफूसँगै लगेका थिए । त्यसलाई मूल पालि भाषामा नै लिपिबद्ध गरियो तर अट्टकथा साहित्यको भने सिंहली भाषामा अनुवाद गरी लिपिबद्ध गरियो । तिनै सिंहली भाषामा अनुवाद गरिएका अट्टकथाहरूलाई सर्वप्राचीन अट्टकथाका रूपमा बुझ्ने गरिन्छ । ती मध्ये पनि प्रमुख अट्टकथाहरूमा महाअट्टकथा, कुरुन्दीअट्टकथा, पच्चरिअट्टकथा, अन्धकअट्टकथा र संखेपअट्टकथा रहेका छन् । बुद्धका देशनाहरू सरल तथा हृदयस्पर्शी हुने गर्दथे । उनको प्रस्तुति स्पष्ट तथा सरल हुन्थ्यो ।
अठ्ठकथाका माध्यमबाट बुद्धले चूलनिद्देस तथा महानिद्देस पहिलो पटक प्रकाशमा ल्याएका थिए । यसबारे राजगृहमा भएको प्रथम धर्मसंगीतिमा छलफल गरिएको थियो । समयक्रममा बुद्धद्वारा उपदिष्ट अधिकांश सुत्तहरूमाथि अठ्ठकथाहरूको रचना गरिएको थियो । यसबाट पनि बौद्ध दर्शनको सञ्चार र विकासमा योगदान पुगेको पाइन्छ । ईश्वीको चौथो शताब्दीदेखि छैठौँ शताब्दी बीचको समय पालिग्रन्थ लेखनका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । त्यसै समयमा दीपवंश र महावंश नामक दुईवटा महत्वपूर्ण एवम् ऐतिहासिक ग्रन्थहरूको रचना भएको पाइन्छ । त्यसै समयमा नै सिंहली भाषामा भएका त्रिपिटकका अट्टकथाहरूको पालि भाषामा रूपान्तरण गरिएको थियो । त्यसैगरी अट्टकथाकारहरूलाई आधार बनाएर टीकाहरू पनि लेखिए । पालि भाषाका अट्टकथाकारहरूमा आचार्य बुद्धघोष, बुद्धदत्त, धम्मपाल, महानाम एवम् उपसेन प्रमुख रहेका छन् । अन्य अट्टकथाकारहरूमा आनन्द, चुल्लधम्मपाल, काश्यप, वजिर बुद्ध, खेम, अनुरुद्ध, धम्मसिरी र महासामी आदि उल्लेखनीय मानिन्छन् ।
बुद्ध धर्म–दर्शनलाई पालि साहित्यको आधारमा अध्ययन तथा त्यसमा निहित बौद्ध शिक्षाको विशाल भण्डारलाई गहन ढङ्गले बुझ्न सक्नुपर्छ । त्यसै भाषाको माध्यमबाट नै बौद्ध धर्मले विश्वधर्मका रूपमा विकसित हुने मौका प्राप्त गरेको हो । प्रारम्भिक अवस्थामा बुद्धका समग्र वचनहरू त्यसै भाषामा सङ्ग्रहित थिए र त्यसबाट विस्तारै विकसित हु“दै विभिन्न भाषा र क्षेत्रमा सञ्चारित भई विस्तारित हुन पुगेको पाइन्छ । पछिका आचार्यहरूले अभिधम्मका प्रसिद्ध ग्रन्थ कथावत्थुको रचना भने सम्राट अशोकको पालामा गरेका थिए । पालि साहित्यको विकासको प्रक्रियालाई नियाल्दा यो विभिन्न चरणबाट गुज्रेको पाइन्छ । प्रथम बौद्ध सङ्गायनमा सङ्कलन गरिएका धर्म र विनय, जो पछि सुत्रपिटक र विनयपिटकका रूपमा चिनिए । बुद्धकालमा अथवा बुद्धको परिनिर्वाणपछिका प्रथम, दोस्रो र तेस्रो बौद्ध सङ्गायनसम्म पनि बौद्ध ग्रन्थहरूलाई लिपिबद्ध गरिएको इतिहास भेटिएको छैन । यी ग्रन्थहरूको सङ्कलन र संरक्षण त गरियो तर लिखित रूपमा वा लिपिबद्ध गरेर होइन, केवल श्रुतिपरम्पराका आधारमा मात्र रहेका थिए ।
बर्मा अर्थात् म्यानमारका तत्कालीन राजा मिन्डोमिनको पालामा ७२९ वटा सङ्गमर्मरका पाटीहरूमा कहिल्यै नमेटिने गरी लिपिबद्ध गरियो, जसमध्ये सूत्रपिटक ४१०, विनयपिटक १११ र अभिधर्म २०८ सङ्गमर्मरमा लिपिबद्ध गरिएको थियो । ती सबै पालि भाषामै लेखिएका थिए । यसरी पालि त्रिपिटक अत्यन्त सुरक्षित रहने गरी संरक्षित भयो । सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक रहेका छन् । बौद्ध साहित्यका धेरै महत्वपूर्ण ग्रन्थहरू संस्कृत भाषामा लेखिएका छन् । अतः बौद्ध दर्शनको विकासमा संस्कृत भाषा, अट्ठकथा साहित्य र सञ्चारको योगदान महत्वपूर्ण रहेको छ । सर्वास्तीवाद सर्व अस्ति वादबाट बनेको छ, जसको अर्थ सबैको अस्तित्व स्वीकार गर्नु भन्ने हुन्छ । यस मतका अनुसार यस जगत्का सबै चिजको अस्तित्व विद्यमान छ । जगत्का सम्पूर्ण वस्तु चाहे बाहिरी हुन् वा भित्री, भूत वा भौतिक, चित्त तथा चैतसिक, वस्तुतः सबै चिज विद्यमान छन् । तिनीहरूको सत्तामा कुनै शङ्का छैन । त्यसै कारण यस मतको नाम सर्वास्तीवाद रहन गएको हो । चौथो सङ्गायनअघिसम्म सर्वास्तीवाद पनि विभाजित थियो तर त्यो सङ्गायनमा एकीकरण गरी एउटै वैभाषिक सम्प्रदाय बनाइयो ।
त्यसपछि सम्राट् कनिष्कले त्यस मतको निकै प्रचार गरे । त्यसै सङ्गायनको प्रस्तावअनुसार पूरै त्रिपिटकको वैभाषिक व्याख्या गरियो । जसअनुसार सूत्रपिटकमाथि उपदेश लेखियो भने विनय विभाषाशास्त्र र अभिधर्म विभाषाशास्त्र पनि रचना गरियो । कनिष्कले सम्पूर्ण सर्वास्तीवादको त्रिपिटकलाई ताम्रपत्रमा कुँदेर ४०० फिट अग्लो र १५० फिट गोलाइको कनिष्क स्तूप भित्र उक्त ताम्रपत्र राखेका थिए । त्यसको सँगै कनिष्क महाविहार पनि पेसाबरमा बनाएका थिए । अहिलेसम्म स्तूप पत्ता लागेको छैन, त्यसकारण आज पनि ती ग्रन्थरत्न काश्मीरको जमिनमुनी सुरक्षित रूपमा रहेको विश्वास गरिन्छ । स्थविरवादीहरू मूल बौद्ध सङ्घबाट अलग भई बहुसंख्यक भिक्षुहरूले महासाङ्घिक सम्प्रदाय खडा गरेपछि बौद्ध सङ्घमा फरक मत राख्नेहरूले बेग्लै सङ्घ खडा गर्ने लहर नै चल्यो । त्यसपछि अलग सङ्घ र सम्प्रदायहरूको विकास हुँदै जाँदा विभिन्न सम्प्रदायहरू अस्तित्वमा आए, जसमध्ये एउटा सर्वास्तीवाद सम्प्रदाय थियो । वैभाषिक भनेर चिनिने हीनयानी बौद्ध दर्शनको मूल हाँगो त्यही मत र सम्प्रदायसँग निकट रहेर रचित साहित्य वा बौद्ध ग्रन्थहरू नै सर्र्वािस्तवाद साहित्यअन्तर्गत पर्दछन् ।
वैशालीको दोस्रो बौद्ध सङ्गायनदेखि स्थविरवादबाट सर्वास्तीवाद र धर्मगुप्त अलग भए भनेर दीपवंशमा उल्लेख गरिएको छ ।
चिनियाँ यात्री इत्सिङ्को विवरणमा पनि चार प्रमुख बौद्ध सम्प्रदायहरू अस्तित्वमा रहेको र त्यसमध्ये मुख्य आर्यमूल सर्वास्तीवाद निकाय थियो भनिएको छ । सर्वास्तवाद निकायलाई वैभाषिक पनि भनिन्छ । सर्वास्तीवाद सम्प्रदायका मूल साहित्यिक ग्रन्थका रूपमा संस्कृत अभिधर्मपिटकलाई लिइन्छ, जसअन्तर्गत सातवटा ग्रन्थ पर्दछन् । तिनलाई भिन्नभिन्न लेखकका रचना मानिन्छ । तीमध्ये प्रमुख ग्रन्थ कात्यायनीपुत्रले रचना गरेको अभिधर्मज्ञान प्रस्थान हो । बाँकी छवटा ग्रन्थहरू त्यसैका पाद अर्थात् परिशिष्ट शृङ्खलाहरू मानिएका छन् । त्यही ज्ञान प्रस्थानअन्तर्गत नै महाविभाषा र विभाषा नामक भाष्य वा टीकाको रचना भएकाले त्यस सम्प्रदायलाई वैभाषिकसमेत भनिएको हो । ती ग्रन्थहरूका मूल प्रति संस्कृत भाषामा उपलब्ध छैनन् । विभाषाको रचना सम्राट् कनिष्कको समयमा भएको हो । त्यसको रचना वसुमित्रले गरेका हुन् । सर्वास्तीवाद निकायको इतिहास सम्राट् अशोकको पालामा भएको तेस्रो बौद्ध सङ्गायनबाट सुरु हुन्छ ।
त्यसै सङ्गायनमा मोगालीपुत्त तिष्यले कथावत्थुको रचना गरेका थिए भने त्यही सङ्ग्रहमा सब्बत्थिवादका विरुद्ध केही प्रश्नहरू उठाइएको थियो । परमार्थ (सन् ४९९–५६९) का अनुसार सर्वास्तीवादीहरूको ग्रन्थ विभाषाशास्त्र छैठौँ शताब्दीमा विद्वान्हरूबीच शास्त्रार्थको प्रमुख विषय बनेको थियो भने चिनियाँ यात्री फहियान (यात्राकाल सन् ३९९–४१४) को यात्रा विवरण अनुसार त्यस बेला पाटलिपुत्र (हाल पटना) र चीनमा सर्वास्तीवादकै अनुयायीहरू बढी थिए । सातौँ शताब्दीमा भारत आएका इत्सिङ् सर्वास्तीवादका अनुयायी थिए । उनका अनुसार त्यो सम्प्रदाय मगध, लाट, सिन्ध, दक्षिणपूर्व प्रान्त तथा मध्यएसियासम्म फैलिएको थियो ।
सातौँ शताब्दीअघि र पछि पनि त्यो जति प्रचारित सम्प्रदाय अरु कुनै थिएन । त्यस निकायको त्रिपिटकको श्लोकको सङ्ख्या नै तीन लाख थियो । त्यस निकायको आफ्m्नो अलग्गै विनयपिटक र अभिधम्मपिटक थियो, जसको मूल संस्कृत रूप नष्ट भइसकेको छ भने केही चिनियाँ अनुवादहरू अद्यापि पाइन्छन् भनिन्छ ।
इत्सिङ् आफैले सम्पूर्ण विनयपिटकको चिनियाँ भाषामा अनुवाद गरेका थिए । संस्कृतको विनय ग्रन्थ पहिलो पटक तेस्रो या चौथो शताब्दीमा सङ्ग्रहित भएको हुनुपर्छ भनी सिल्भा लेभीले भनेका छन् । एकोत्तरगम अर्थात् अङ्गुर निकाय, दीर्घागम अर्थात् दीर्घ निकाय, मध्यमागम अर्थात् मज्झिम निकायका केही अंश पूर्वी तुर्किस्तानको खोजमा पाइएको थियो । त्यस बेला उदानवर्गको केही अंश अर्थात् उदान पनि पाइयो । प्रतिमोक्षसूत्रको एउटा तिब्बती र चार चिनियाँ अनुवाद भेटियो । यसरी पालि विनय र संस्कृत विनय ग्रन्थका नाम पनि करिबकरिब मिल्छन् । स्थविरवादको जस्तै सर्वास्तीवादका पनि अभिधर्म ग्रन्थ सातवटा छन् तर नाम फरक छन् । ती ग्रन्थको उल्लेख यशोमित्रको अभिधर्मकोश व्याख्यामा पाइन्छ । सर्वास्तीवादलाई विक्रम संवत्को प्रथम शताब्दीपछि वैभाषिक भन्न थालिएको पाइन्छ । सर्वास्तीवाद वैभाषिककै प्राचीन नाम हो । ती ग्रन्थहरूको भाषा बौद्धसङ्कर–संस्कृत थियो । बौद्ध दर्शनको विकासमा संस्कृत साहित्य र सञ्चारको भूमिका बारे सोधिएको एक प्रश्नमा बौद्ध अध्येता शारदा पौडेलले ‘बुद्धकालमा बुद्धका वचनहरूलाई आ–आफ्नो जनबोलीको भाषामा एवम् मौखिक परम्परामा स्मरण गर्ने प्रचलन रहेको थियो ।
बुद्धले यमेलु र तेकुललाई दिएको निर्देशन पनि त्यस्तै रहेको छ । कालन्तरमा राजनैतिक प्रतिष्ठाका कारण विद्वान्हरू एवम् राजकीय बोलीचालीको भाषा संस्कृत हुन गएको पाइन्छ । बौद्ध इतिहासमा बौद्ध संस्कृत साहित्यको रचना इसापूर्व दुईसय वर्ष अघिदेखि भएको देखिन्छ । बौद्ध संस्कृत साहित्यको प्रथम ग्रन्थका रूपमा महावस्तु ग्रन्थलाई मानिन्छ । यो ग्रन्थसँगै संस्कृत साहित्यका विभिन्न ग्रन्थहरूमा बौद्ध धर्मदर्शन चर्चा र विवेचना भएको पाइन्छ ।’ यसरी हेर्दा बौद्ध दर्शनको विकासमा पालि भाषाका साथै संस्कृत भाषामा लेखिएका बौद्ध साहित्य र सञ्चारको योगदान महत्वपूर्ण रहेको पाइन्छ । भवतु सब्ब मंगलम् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक